सुर्खेत — भूकम्पले घर भत्किएपछि भारतको मजदुरी छोडेर आएका जाजरकोटको बारेकोट गाउँपालिका–१ का सुरबहादुर बुढालाई यतिबेला परिवारको गर्जो टार्नै धौ–धौ छ । आर्थिक संकट टार्न उनी पत्नी शोभाकला र २ छोरासहित जेठ दोस्रो साता यार्चा संकलनका लागि डोल्पाको नाउरे पाटन उक्लिए ।
खानपान र बन्दोबस्तीका सामानमा नै झन्डै ५० हजार रुपैयाँ खर्चिएको उनको परिवारले १५ दिनमा १ सय २० यार्चागुम्बु मात्रै पाए । ‘कहिले त दिनभरि खोज्दा एउटा पनि यार्चा पाइएन, टिपेका यार्चा पनि पोटिलो पाइएन,’ सुरबहादुरले दुःखेसो पोखे, ‘पाटन बसेर खर्च मात्रै बढ्न थालेपछि असार पहिलो साता फर्कियौँ ।’ गत वर्ष यार्चाबाटै २ लाख कमाएको सुरबहादुरको परिवारले यसपालि भने ९० हजारभन्दा बढी कमाउन सकेन । पाटनमै ६ सयदेखि ८ सय रुपैयाँ प्रतिगोटामा यार्चा बेचेर फर्कियो । यसैपाला भूकम्पले घर भत्काएपछि पाखोमा आफ्ना लागि टहरा र गाईभैंसीका लागि गोठ बनाएका बर्खेबाली पनि लगाउन पाएका छैनन् ।
सुरबहादुरकै छिमेकी धरणीधर बुढाको ३ जनाको परिवारले पनि यार्चा बिक्री गरेर यसपटक ८० हजार मात्र कमायो । ‘नयाँ घर बनाउनका लागि सरकारी प्रक्रिया मिलाउन घरमूली नै चाहिन्छ भनेकाले भारत जान पाइएन, घरखर्च धान्न मुस्किल भएपछि यार्चा टिप्न पाटन गइयो,’ उनले भने, ‘तर दुःखको मोल पनि उठेन, अब त मजदुरीका लागि फेरि भारत जानुको विकल्पै भएन ।’ ४० हजार खर्चिएर पत्नी र छोरासहित गएका उनको परिवारले १ सय ३ वटा यार्चा मात्रै टिप्न सक्यो । ‘पाटनमा यार्चा नै सकिएजस्तो छ, ५र७ वटा पाउन पनि दिनभरि नै लाग्ने,’ भने, ‘त्यसमा पनि भाउ खस्किएको खस्कियै छ ।’
कर्णालीका पाटनमा यार्चा टिप्न ठूलो जोखिम मोल्नुपर्छ । तर अधिकांश संकलकले यसपालि सोचेजस्तो यार्चा पाउन सकेनन् । गत वर्ष प्रतिगोटा १ हजार रुपैयाँमा बिक्री भएको यार्चा यसपालि ८ सयभन्दा माथि जान नसकेको डोल्पाको त्रिपुरासुन्दरी–३ का बलबहादुर बुढाले बताए । ‘त्यहाँ जाँदा आउँदाको दुःखको त कुरै नगरौं, पाटन पुग्दा लेक लाग्ने, भीरबाट खस्ने र बिरामी हुनेलगायत जोखिम मोल्दै ज्यानकै बाजी थापेर भीरपहरामा रातारात हिँड्नुपर्छ,’ उनले भने, ‘योपालि पाटनमा यार्चा पनि कम फल्यो, त्यसमा पनि भाउ पाउन गाह्रो, पोहोर—परार त कम्तीमा डेढ महिनासम्म पाटनमा बस्थ्यौं, यस वर्ष भाग्यले पनि साथ नदिएपछि २ हप्तामै फर्कनुको विकल्प भएन ।’
यस वर्ष डोल्पामा डिभिजन वन कार्यालयमार्फत सामुदायिक वनका ४१ वटा र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका २१ वटा पाटनमा यार्चागुम्बु संकलन भएको थियो । यो वर्ष डिभिजन वनमार्फत ४ किलो र निकुञ्जमार्फत ६४ किलो यार्चागुम्बुको छोडपुर्जी जारी भएको थियो । डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतका अनुसार यस वर्ष व्यापारीले पनि खासै राम्रो भाउ पाएनन् । उनका अनुसार यस वर्ष नेपाल—चीन सीमास्थित मोरिंगा नाकामा चीनले १५ दिने व्यापार मेला लगाएको थियो । ‘त्यहा‘ गएर बिक्री गर्नेले प्रतिकिलो २८ लाखसम्ममा बिक्री गरे भन्ने जानकारी आयो,’ उनले भने, ‘नेपाली बजारमा भने १७ देखि २२ लाखभन्दा बढी मूल्य पाएको छैन
प्रकाशित मितिः September 21, 2024 at 5:00 am
न्यूजअफ कर्णाली । २०८१ पुष १ गते मङ्गलवार