दैलेख । नेपालको इन्धन विकाससँग जोडिएको दैलेखको पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको जमिनमुनी ड्रिलिङ गर्ने काम तीन किलोमिटर गहिराइमा पुगेको छ । खानी तथा भूगर्भ विभागअन्तर्गत पेट्रोलियम अन्वेषण परियोजनाका सिनियर डिभिजनल जियोलोजिष्ट गणेशनाथ त्रिपाठीले हालसम्म तीन हजार ३७ मिटरको गहिराइसम्म ड्रिलिङ गर्ने काम सम्पन्न भइसकेको बताए । ड्रिलिङको काम सक्न अझै ढेड महिना लाग्ने सक्ने त्रिपाठीले बताए ।
उनका अनुसार अहिले दैनिक ३० देखि ४० मिटरका दरले ड्रिलिङको काम धमाधम भइरहेको छ । आयोजनामा चार हजार पाँच सय मिटर गहिराइसम्म ड्रिलिङ गरिने त्रिपाठीले बताए । हालसम्म प्राप्त नतिजा अनुसार सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको करिव निश्चित जस्तै बनेको उनले बताए । यद्यपि कति र कुन अवस्थामा पेट्रोलियम पदार्थ छ भन्ने यकिन गर्न ड्रिलिङको काम पूरा भएपछि मात्रै भन्न सकिने भन्दै सिनियर जियोलोजिष्ट त्रिपाठीले भने, ‘ड्रिलिङको काम धमाधम अघि बढिरहको छ । यो सम्पन्न भएपछि उक्त स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन् सम्भावनाबारे अध्ययन हुन्छ ।’
चिनियाँ सरकारको जियोलजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम अन्वेषणअन्तर्गत अन्तिम चरणको ‘ड्रिलिङ’ गर्ने कार्य भइरहेको छ । भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका जमिनमुनी ड्रिलिङको काम भइरहेको हो । २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी गरेपछि चर्चामा आएको पेट्रोलियम पदार्थको खानीमा खनिज रहेनरहेको पत्ता लगाउन अन्तिम नतिजा उन्मुख चरणको काम भइरहेको छ । त्रिपाठीका अनुसार दैलेखमा विगत सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको छ । त्यो नै प्राविधिक हिसाबले पेट्रोलियम पदार्थ छ भन्ने बलियो प्रमाण भएको त्रिपाठी बताउँछन् ।
‘सयौँ वर्षदेखि जमिनमै ग्यासहरू बलिरहेको छ, पादुकादेखि श्रीस्थानसम्मको क्षेत्रमा पेट्रोलियम पदार्थ तैरिइरहेको अवस्था हो, यो नै पेट्रोलियम पदार्थ छ भन्नेमा बलियो प्रमाण हो, पुष्टि पनि हो । अब कति गहिराइमा छ, कुन–कुन ठाउँमा छ, कति परिमाणमा छ, प्राविधिक र आर्थिक हिसाबले उपयुक्त छ या छैन भन्नेबारे अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ,’ उनले भने । नेपालको चुरे पहाडको केही भू–भाग र तराईको भाग पेट्रोलियम पदार्थको स्रोत भएको अत्यन्तै सम्भावित क्षेत्र रहेको उनको भनाइ छ । उनका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ भित्रै अन्तिम अन्वेषणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
गत बैशाखमा सुरु भएको ड्रिलिङ पाँच देखि ६ महिनामा सम्पन्न हुने भनिए पनि प्राविधिक समस्याका कारण आयोजना केही महिना लम्बिने देखिन्छ । यो परियोजनाको लागत सुरुमा दुई अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको थियो । सोही अनुसार अन्वेषणको काम सुरु गरिएको थियो । तर, कारोना माहामारीलगायतका विभिन्न कारणले परियोजना कार्यान्वयनमा भएको ढिलाइले लागतसमेत बढेको चिनियाँ पक्षले जनाउँदै आएको छ ।
प्रकाशित मितिः November 11, 2024 at 4:31 am
न्यूजअफ कर्णाली । २०८१ पुष ३ गते बिहिवार